काठमाडौं, ३ भदौ : संघीय संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने एमाले अडान कायमै रहेपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको हो । दलहरुबीचको अडान कायमै रहेपछि सोमबार पुनः बैठक बस्ने र सहमतिको बाटो खोजिने नेताहरुले जनाएका छन् ।
बैठकपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनको अवरोध अन्त्य गर्ने बिषयमा राम्रोसंग कुरा भएको र अहिले नै निष्कर्षमा नपुगिएको बताउनुभयो । उहाले स्वास्थ्यका कारण एमाले अध्यक्ष केपी ओली बैठकमा सहभागी नभएकाले सोमबार पुन बैठक बस्ने र सहमतिको प्रयास गरिने जानकारी दिनुभयो । श्रेष्ठले सुन प्रकरणमा सिआइबीलाई नै अनुसन्धानको निष्कर्ष निकाल्न दिनुपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरण प्रकरणमा राजनीतिक दलको पनि संलग्नताको कुरा आएरहेकाले उच्चस्तरीय छानविनको माग गरिएको बताउनुभयो । उहाले पछिल्लो घटनाक्रम हेर्दा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गर्ने तयारी भएको, सुन तस्करी प्रकरणमा ठूला व्यक्तिलाई सिआइबीले छानविन गर्न नसकेको, भ्रष्टाचारका नाइकेहरुलाई संरक्षण गर्ने कोसिस भएकाले उच्चस्तरीय छानबिन रहेको जिकिर गर्नुभयो ।
बैठकमा प्रधानमन्त्रीले अहिले नै उच्चस्तरीय समिति गठन गर्दा सीआईबीले गरेको अनुसन्धान प्रभावित हुने भएकाले सीआईबीको अनुसन्धान सकिएपछि समिति गठन गर्न सकिने बताउनुभएको थियो तर एमालेले अहिले नै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएको प्रमुख सचेतक गिरीले बताउनुभयो ।
त्यस्तै रास्वपाका सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति अडान राखेको र सरकारले निश्चित समयसम्म पर्खिएर हेर्न आग्रह गरेको जानकारी दिनुभयो । उहाले आफुहरुले तत्काल सदन खुलाउनुपर्नेमा जोड दिएको र सदनबाटै सरकारलाई प्रश्न गर्न सकिने धारणा राखेको बताउनुभयो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने माग गर्दै साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।