शम्भुजीत बासकोटा म्युजिक भिडियो निर्देशक समाजबाट पुरस्कृत

admin

नेपाल म्युजिक भिडियो निर्देशक समाजले आईतबार काठमाडौंको नाचघरमा दोश्रो वार्षिक उत्सब तथा सम्मान समारोह सम्पन्न गरेको छ । गीत संगीत, नृत्य सहित आयोजित सो कार्यक्रममा विभिन्न श्रष्टाहरु सम्मानित भए ।

सो समारोहमा नेपाल म्युजिक भिडियो निर्देशक समाजले ‘आलोक–सुरज स्मृति पुरस्कार २०८०’ बाट संगीतरत्न बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई ११ हजार १११ रुपैयाँ सहित पुरस्कृत गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले सो पुरस्कार बासकोटालाई प्रदान गरेका हुन् ।

बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले २०४५ सालमा नगरकोटमा छायाँकन गरेर नेपालको पहिलो म्युजिक भिडियोको औपचारिक छायाँकन गरेका थिए । यसरी नेपालमा पहिलो म्युजिक भिडियोको निर्देशन गरेर म्युजिक भिडियोको यात्रा शुभारम्भ गर्दै नेपाली गीत संगीत र म्युजिक भिडियोको विकाशमा अतुलनीय योगदान दिएको भन्दै बासकोटालाई ‘आलोक–सुरज स्मृति पुरस्कार’ बासकोटालाई प्रदान गरिएको म्युजिक भिडियो निर्देशक समाजका कार्यबाहक अध्यक्ष देवेन्द्र पाण्डेले बताए ।

नेपाली गीत संगीत र म्युजिक भिडियो क्षेत्रमा योगदान दिएको भन्दै समारोहमा विशेष सम्मानबाट वरिष्ठ लोकगायक प्रेमराजा महतलाई सम्मानित गरियो । यस्तै बरिष्ट गायक आनन्द कार्की, वरिष्ठ म्युजिक भिडियो सम्पादक प्रकाश तुलाधर, वरिष्ठ म्युजिक भिडियो छायांकार धिरजजङ्ग शाह, वरिष्ठ म्युजिक भिडियो निर्देशक शंकर बिसीलाई पनि कार्यक्रममा सम्मानित गरियो । म्युजिक भिडियो महिला निर्देशक अनुपा श्रेष्ठ, गायिकाहरु जुनु रिजाल, प्रश्ना शाक्य, गीतकार प्रकाश सुवेदीलाई पनि सम्मानित गरियो ।

सो कार्यक्रममा पत्रकार बिजयरत्न तुलाधर, चलचित्र निर्देशक सत्यराज चौलागाईं, गीतकार हरि उप्रेती, गायक दिपेश श्रेष्ठ बैध, मौलिक थाली नृत्यगना एलिजिबा पुर्जा पुन, मोडेल सुमन खतिवडा, गायक निमा पाख्रीन लामा, गायिकाहरु पाल्मु शेर्पा शान्ति कुमारी शाही, दिपा रावल सहित दावा लामा र जेविन जिभेस श्रेष्ठ पनि सम्मानित भए ।

वरिष्ठ म्युजिक भिडियो तथा चलचित्र निर्देशक एवम् प्रतिनिधि सभा सांसद असिम शाहलाई मानार्थ सदस्य सम्मानबाट सम्मान गरिएको कार्यक्रममा अभिनेताहरु तेज गिरी, सागर लम्साल बले, दुर्गेस थापा, संगीतकार ओम सुनार, गायकहरु सजिब सिह राना, नरेश बुढाथोकीलाई समाजको मानार्थ सदस्यता प्रदान गरियो ।
नेपाल म्युजिक भिडियो निर्देशक समाजकी कोषाध्यक्ष बबिता श्रेष्ठको संयोजनमा सम्पन्न सो कार्यक्रममा आनन्द कार्की, प्राश्ना शाक्य, जुनु रिजाल काफ्ले, रामजी खाँडले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकलाई नचाए । यस्तै गायक/ अभिनेता दुर्गेश थापा, बाल कलाकार जेविन/जेविश श्रेष्ठको प्रस्तुति पनि निकै आकर्षक बन्यो ।

सो कार्यक्रममा बोल्दै समाजका महासचिब सुब्रत आचार्यले नेपाली म्युजिक भिडियोमा योगदान दिएको श्रष्टाहरुको नामबाट पुरस्कार स्थापना गरेर नेपाली पहिलो म्युजिक भिडियो निर्देशक शम्भुजीत बासकोटालाई पुरस्कृत गर्दै यो पुरस्कारको परम्परा सुरु गरेको बताए ।

म्युजिक भिडियो निर्देशक समाजका उपाध्यक्ष निशान घिमिरे, अतिथिहरुलाई स्वागत गरेको सो समारोहलाई सचिव प्रकाश धिताल, सहसचिव समन अधिकारी सह कोषाध्यक्ष डि .आर सुजनसहितको कार्यसमिति टिमले सफलतापूर्वक सम्पन्न गर्यो ।

प्रतिक्रिया