काठमाडौं, ७ भदौ : संयुक्त विद्यार्थी संगठनले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा भएको शुल्क बृद्धि विनासर्त खारेज नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन लगाएतले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरि अस्वभाविक रूपमा भएको शुल्क बृद्धि विनासर्त खारेज नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र शुल्क बृद्धि खारेज नभए कडा आन्दोलन गर्ने र त्यसबाट उत्पन्न हुने अवस्थाका जिम्मेवारी स्वयं इन्जिनियरिङ्ग अध्ययन संस्थान हुने बताउनुभयो ।
उहाले इन्जिनियरिङ्ग अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा दोव्वरभन्दा बढि अकस्मात शुल्क बढाउनुले आर्थिक रुपमा बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ्ग शिक्षाबाट वञ्चित गराउने निश्चित भएको जिकिर गर्नुभयो ।
इन्जिनियरिङ्ग अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.÷बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो । इन्जिनियरिङ्गतर्फको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्क तर्फ ३ लाखबाट बढाएर ७ लाख ७५ हजार पुराइएको संयुक्त विद्यार्थी संगठनको आरोप छ ।