१० वटा संसदीय समिति सभापतिमा ११ जनाको उम्मेदवारी, अर्थमा चालिसे, कृषिमा आरजु

admin

काठमाडौं, १० भदौ : प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको छ ।

सिंहदरबारमा बिभिन्न दलका प्रतिनिधिहरुले समितिको सभापतिका लागि मनोनयन दर्ता गराएका हुन् । १० मध्ये ९ वटा समितिको सभापतिमा एकल उम्मेद्वारी दर्ता भएको छ । जसमध्ये अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदीको उम्मेद्वारी परेको छ ।

त्यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी परेको छ ।

यस्तै पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको छ । उम्मेद्वारी दर्तापछि कृषि समितिको सभापतिमा मनोनयन दर्ता गराउनुभएकी आरजु राणा देउवाले कृषि क्षेत्रको प्रवद्र्धन बिकास लगाएतका काममा आफ्नो अनुभवका आधारमा काम गर्ने बताउनुभयो ।

१० वटा समिति मध्ये उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नेपालको राजनीतिमा लिने र दिने अभ्यास देखिएकोमा लोकतन्त्रको अधिकार प्रयोग गरेर पार्टीका तर्फबाट सभापतिमा मनोनयन दर्ता भएको बताउनुभयो ।

प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । समिति सभापतिको निर्वाचन सोमबार दिउँसो सम्बन्धित समितिमा हुने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया