काठमाडौं, १९ भदौ: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फछ्र्यौटलाई प्रभावकारी बनाउन प्रतिवद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिनुभएको छ ।
मंगलवार बसेको सार्वजनिक लेखा समिति बैठकमा सभापति पोखरेलले विद्यमान ऐन नियममा सुधार र प्रतिवद्धता सहितको कार्ययोजना बनाउन समिति सचिवलाई निर्देशन दिनुभएको हो ।
उहाँले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने गरी बनाउन पनि आग्रह गर्नुभयो । सभापति पोखरेलले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरु र पेशा व्यवसाय मिल्ने सांसदहरुलाई राख्दा स्वार्थ बाझिने भएकाले नराख्न आग्रह गर्नुभयो ।
समितिका २७ जना सांसदहरुले काममा गति दिनसके समितिको काम प्रभावकारी हुने बताउनु भयो । उहाँले समितिले तत्काल बेरुजु,महालेखा र लेखा उतरदायीहरुको बीचमा अन्तरसंवाद र लेखा समितिका सदस्यहरु र सचिवालयको क्षमता अभिवृद्धि गर्ने अनिर्वाय आवश्यकता रहेको बताउनु भयो ।
उहाँले समितिमा पर्ने उजुरीहरुको समितिमा छलफल हुने तर अध्ययन अनुसन्धान नगर्दा परिणाम आउन नसक्ने अवस्था रहेको भन्दै आगामी दिनमा समिति सदस्यहरुले अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो ।
बैठकमा एमाले सांसद योगेश भट्टराईले राजनीतिक दलहरू पारदर्शी र जवाफदेही बन्नुपर्नेमा जोड दिनु भएको छ । राजनीतिक दलहरूको आर्थिक व्यवहारलाई पनि संसदीय समितिले हेर्नुपर्ने बताउनु भयो । सांसद भट्टराईले लेखा समितिले राजनीतिक दलसँग सम्बन्धित विषयलाई पनि आफ्नो क्षेत्राधिकार भित्र राख्नु पर्ने बताउनु भयो ।