राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिर दर्शन

admin

काठमाडौं, २० भदौं : राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्नुभएको छ ।

प्रत्येक वर्ष भाद्र कृष्णाष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा अनुसार राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्नुभएको हो । सो अवसरमा उहाँले मन्दिरका पुजारीबाट पूजा आराधना र फूल एवम् प्रसाद ग्रहण गर्नुभएको थियो ।

पौडेललाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन लगायतले स्वागत गरेका थिए । कृष्णमन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

१७ औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामासो मन्दिर निर्माण भएको थियो । द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा आजको दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो । मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रतिक्रिया