शिक्षा विधेयकविरुद्ध काठमाडौंमा शिक्षकहरूको प्रदर्शन

admin

काठमाडौं, ३ असोज : संसदका दर्ता भएको शिक्षासम्बन्धी बिधेयकप्रति आपत्ति जनाउदै शिक्षकहरुले काठमाडौंमा बृहत प्रदर्शन गरेका छन् ।

‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षकहरूको हकहितविपरीत भएको भन्दै नेपाल शिक्षक महासंघको अगुवाईमा बुधबार काठमाडौंको माइतिघर देखि नयाँ बानेश्वरसम्म बृहत प्रदर्शन गरिएको हो ।

सरकारले आह्वान गरेको वार्ता समेत अस्वीकार गर्दै महासंघले बिद्यलयमा पठनपाठन बन्द गर्नेसहितको आन्दोलन गरेको हो ।

विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवालमा ध्यान दिन नसकेको महासंघको आरोप छ ।

त्यस्तै अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको महासंघको बुझाई छ । शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ ।

शिक्षकहरुले आन्दोलन गरेपछि सरकारले शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा सरकारले वार्ता टोली गठन वार्ता आह्वान गरेको छ । तर महासंघले भने आफुहरुको सवाल शिक्षा मन्त्रालयसंग मात्रै नभएको भन्दै वार्तामा बस्न मानेको छैन ।

प्रतिक्रिया