बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका काम प्रशंसनिय छ- मन्त्री बस्नेत

admin

काठमाडौं, ४ असोज : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रसंसा गर्नुभएको छ ।

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे जस्तै विपन्न र गरिवको सहज स्वास्थ्य उपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनिय रहेको बताउनुभएको हो ।

स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल र प्रतिष्ठानका ३ हजार ५ सय ६५ जनरल बेड निःशुल्क गरेपछि बाग्मती प्रदेशले आफू मातहतका प्रादेशिक अस्पतालहरुका ८०० बेड निःशुल्क गरेको थियो ।

मन्त्री बस्नेतले विपन्न जनतालाई सहज उपचार उपलब्ध गराउने अभियानमा बाग्मती प्रदेशले क्यान्सरका विरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति १ लाख रुपैया सहुलियतमा थप ५० हजार रुपैया उपलब्ध गराईरहेको जानकारी दिनुभयो । हृदयरोगका विरामीलाई १ लाखमा थप गरेर १ लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनिय रहेको स्वास्थ्य मन्त्री बस्नेतले बताउनुभयो ।

कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्नको उपचारका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि व्यापक प्रचार प्रसारको कमिले जनमानसमा पुग्न नसकेको बताउनुभयो ।

उहाले हरेक अस्पतालले प्रदान गर्ने सेवा र सुविधाका बारेमा सूचनापाटीमा लेखेर सबैलाई जानकारी गराउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बाग्मती प्रदेशले नेपाल रेडक्रससँग निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ भने शहिद गंगालाल हृदयरोग प्रतिष्ठानसँग मुटु रोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर हस्पिटलसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ ।

प्रतिक्रिया