आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

admin

काठमाडौं, ५ असोज : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र मधेश प्रदेशको एक दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्ग र तराईमा हावा हुरीको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 

प्रतिक्रिया