काठमाडौं, ५ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले आफ्नो छुट्टै शैलीबाट शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुराउन लागेको बताउनुभएको छ ।
अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पीडित सरोकारवाला पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुराउन लागेको बताउनुभएको हो ।
उहाले अहिले प्रधानमन्त्री र बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतमा प्रक्रियामा जोडिएका सबै पक्ष र सरोकारवालाहरूबीच सहमति जुटाउन आफ्नो गम्भीर प्रयास रहेको बताउनुभयो । उहाले द्वन्द्वका समयमा भएका गम्भीर अपराधलाई आममाफी नदिने र देशमा शान्ति, सद्भाव कायम गर्दै समाजमा न्याय, शान्ति स्थापना गर्ने गरि शान्ति प्रक्रियालाई टुङ्गो लगाइने जिकिर गर्नुभयो ।
उहाले नेपालमा राजनीतिक परिवर्तनले स्थायित्व लिएकाले नेपालको अबको मुद्दा आर्थिक विकास भएको धारणा राख्नुभयो । प्रधानमन्त्री प्रचण्डले दिगो विकासका लक्ष्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै सन् २०२६ मा मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति हुने तयारी गरेको जानकारी दिनुभयो । उहाले दिगो विकासलाई विकासको केन्द्र र प्राथमिकतामा राखेको भएपनि महामारी, जलवायु परिवर्तन, भूराजनीतिक टकराव अहिलेको चूनौति देखिएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालजस्तो हिमाल भएका देशहरुले गम्भीर संकटको सामना गर्नुपरेको भन्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका लागि पेरिस सम्झौताअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाले कुनै पनि प्रकारको धम्की, शस्त्रअस्त्रको प्रयोग गरेर भू–भाग स्वामित्व, राजनीतिक स्वतन्त्रता, सार्वभौममा तनाव हुन नहुने नेपालको मान्यता रहेको बताउनुभयो ।