कांग्रेसले शिक्षा विधेयकका सन्दर्भमा सरोकार पक्षसँग गर्यो छलफल

admin

काठमाडौं, ९ असोज : नेपाली कांग्रेसले विद्यालय शिक्षासम्बन्धी विधेयकका सन्दर्भमा सरोकारवाला निकायसंग छलफल गरेको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको हो ।

छलफलका क्रममा शिक्षाका क्षेत्रमा काम गरिरहेका २० संस्थाहरुले धारणा राखेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

प्रमुख सचेतक लेखकले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने बताउनुभयो ।

बुधबार विद्यालय शिक्षासम्बन्धी विधेयकका सन्दर्भमा बिशेषज्ञ र विधेयक निर्मणका क्रममा सहभागी विज्ञहरुसंग छलफल गरिने उहाले बताउनुभयो ।

त्यस्तै छलफल पछि नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले विधेयकका सन्दर्भमा सरकारसंग भएको सहमति लगाएतमा छलफल भएको बताउनुभयो । उहाले राहत शिक्षकहरुको मागमा पनि गम्भीर हुन आग्रह गरेको र आफुहरुले राहत शिक्षकको जायज माग पुरा गर्नुपर्नेमा जोड दिएको बताउनुभयो ।

यता राहत शिक्षक समितिका अध्यक्ष खेमराज अधिकारीले आफुहरुको मागलाई महासंघले नै वेवास्ता गरेको बताउनुभयो ।

उहाले आफुहरुलाई सरकारले वार्तामा बोलाउन खोज्दा महासंघले बिचौलियाजस्तो भूमिका निर्वाह गरेको आरोप लगाउनुभयो ।

विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो ।

तर आफुहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरु भने अहिले पनि आन्दोलनमै छन् । उक्त विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।

प्रतिक्रिया