ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न सवै पक्ष गम्भीर हुनुपर्छ : गृहमन्त्री श्रेष्ठ

admin

काठमाडौं, १४ असोज : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न सरोकारवाला सवै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह उद्घाटन गर्दै श्रेष्ठले ट्राफिक व्यवस्थापनको समस्या समधान गर्न एउटा निकायले मात्रै नसक्ने भन्दै चालक र अन्य पक्ष समेत जिम्मेवार हुनुपर्ने बताउनुभयो । ट्राफिक प्रहरी, महानगरपालीका, यातायात व्यवस्थापीका मिलेर एकीकृत योजना बनाएर नै अघि बढ्नुपर्ने उहाको भनाइ छ ।

श्रेष्ठले सार्वजनिक यातायातलाई सहज र सूलभ बनाएर निजि यातायातको प्रयोगलाई न्यूनिकरण गर्न सरकार गम्भीर रहेको धारणा राख्नुभयो । सडक सुरक्षाका साथै ट्राफिक व्यवस्थापन गर्न नसके जनताको शान्ति सुरक्षामा समेत प्रश्न उठ्ने भएकाले ट्राफिक व्यवस्थापनको ठूलो महत्व रहेको उहाले बताउनुभयो । त्यस्तै उहाले सडक सुरक्षालाई प्रभावकारी बनाउनका लागि सचेतना पनि उतिकै महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले ट्राफिक प्रहरीलाई बैज्ञानिक रुपमा ट्राफिक व्यवस्थापनबारे जानकारी गराउनुपर्ने र ट्राफिक प्रहरीका लागि यसअघि भन्दा बढि प्रोत्साहन गर्ने गरि छलफल भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले उपत्यकाको चूनौतिको रुपमा रहेको ट्राफिक व्यवस्थापनका लागि सरोकारवालासंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाले सडक सुरक्षा न्यूनिकरण गर्न कुनै कसर बाँकी नराखि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बढ्दो शहरीकरणका साथै सवारी साधनको बृद्धि भएपनि पूर्वाधारमा बिकास नभएका कारण सडक दुर्घटना बढ्दै गएको उहाले बताउनुभयो ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० आयोजना गरिएको हो ।

प्रतिक्रिया