काठमाडौं, १७ असोज : सरकारका प्रवक्ता रेखा शर्माले जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा प्रवक्ता शर्माले अहिलेको व्यवस्थाको जग जनयुद्ध नै भएको भन्दै जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताउनुभयो ।
उहाले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने धारणा राख्नुभयो । जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न नभएको भए अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्भव नहुने उहाको भनाइ छ ।
उहाले जनयुद्ध कुनै खास पार्टी र व्यक्तिको विषय नरहेको स्पष्ट पार्दै सरकारले गरेको निर्णयबाट फिर्ता हुने सम्भावना नरहेको धारणा राख्नुभयो ।
यसअघि मंगलबार संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसको सार्वजनिक विदा कटौती गर्न माग गर्नुभएको थियो ।
त्यस्तै उहाले सामाजिक सञ्जालमा हुने दूरुपयोग रोक्न तदारुकताका साथ कानुन निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।