काठमाडौं, १८ असोज : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ ।
प्रारम्भ गर्दै आयोगले सुन तस्करीका सम्बन्धमा जानकारी तथा सुझाव माग गर्न सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।
आयोगले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै विधुतिय सिगरेटमा भएको सुन तस्करी, ब्रेक सुमा भएको सुन तस्करी लगाएत पटक पटक भएको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने असरका सम्बन्धमा सुझाव संकलन गर्ने जनाएको हो । त्यस्तै सुनको अवैध पैठारीका सम्बन्धमा अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा पनि सुझाव लिने आयोगले जनाएको छ ।
सुन तस्कारी कार्यमा संलग्न व्यक्तिहरुको थप अनुसन्धान, यस बिषयमा भएका फैसलाहरुका बारेमा समेत जानकारी लिने आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिनुभयो ।
उहाले कार्तिक १६ गतेसम्मको समयसीमा निर्धारण गरेर बिभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय भएको बताउनुभयो । सुन तस्कारी सम्बन्धी सिआइवीले गरेका अनुसन्धानमा भएका कमी कमजोरीलाई खोज्ने काम आयोगको भएको भन्दै केहि चूनौति हुने उहाले बताउनुभयो ।
सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो ।
आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा हुनुहुन्छ । सरकारले आयोगलाई तीन महिनाभित्र अनुसन्धान सम्पन्न गरेर सुनको अवैध पैठारी तस्करीको नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।