काठमाडौं, २३ असोज : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सीमित स्रोत र साधनले बालगृहको सहज व्यवस्थापनमा चुनौती देखिएको बताउनुभएको छ ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा मन्त्री आचार्यले साधन र स्रोतको सीमितताका कारण बालगृहको अवस्था उकुसमुकुस र दयनीय रहेको भन्दै राज्यले गम्भीर भएर सोच्नुपर्ने बताउनुभएको हो ।
बालसुधार गृहलाई पूर्वाधारयुक्त बनाउन अव ढिलाई गर्न नहुने उहाले बताउनुभयो । उहाले न्यूनतम पूर्वाधारको अभावमा त्यहाँ रहेका बालबालिका शौचालय जानसमेत लाइन बस्ने बाध्यात्मक परिस्थिति रहेको जानकारी दिनुभयो ।
बालसुधार गृहमा राख्ननपर्ने कुरामा आफु सहमत नभएको भन्दै उहाले बालसुधार केन्द्रबाट समाजमा आएपनि असल नागरिक बनाउन ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री आचार्यले बजेटको व्यवस्थापन भए महिला मन्त्रालयले नै बालसुधार केन्द्रको पूर्वाधारमा सुधार गर्ने दावी गर्नुभयो ।
बैठकमा समिति सदस्यहरुले बाल सुधार गृहको व्यवस्थापन कमजोर रहेका कारण आक्रोश पैदा हुने र बिभिन्न घटना हुने जोखिम देखिएकाले बेलैमा सचेत हुनुपर्ने धारणा राखेका थिए ।