काठमाडौं, २८ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र निस्तेज पारिएको बताउनुभएको छ ।
आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एक साथ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको राम्रो काम देखेर गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र भएको भन्दै कोशीमा उक्त षडयन्त्र निस्तेज पारिएको बताउनुभएको हो ।
उहाले अहिलेको सरकारको कामका कारण सत्तामा कहिल्यै फर्कन पाइदैन की भनेर एकथरी बिक्षिप्त भएको जिकिर गर्नुभयो ।
कोशीमा गठबन्धनलाइ नै बिभाजन गर्ने कोशीस निस्तेज पारिएकाले अव गठबन्धन पूरै कार्यकाल अघि बढ्ने उहाले बताउनुभयो ।
वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उहाँको भनाइ छ ।
उहाँले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभयो ।
देश बाहिर रहनुहुने नेपालीको हितमा सामाजिक सुरक्षा कोष मात्रै नभइ नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको उहाले जानकारी दिनुभयो ।