काठमाडौं, असोज ३०: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबारदेखि खसीबोका तथा च्याङग्राको बिक्री सुरू गरेको छ ।
कम्पनीले थापाथली कार्यालय परिसरबाटै दसैंका लागि छुट मूल्यमा जिउँदो खसी, बोका र च्यांग्रा बिक्री वितरण सुरू गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले कम्पनीलाई यस पटक निकासा भएको बजेट र तोकिएको कोटा अनुसार २ हजार खसी बोका र १ हजार च्याङ्ग्रा खरिद गरेर विक्री वितरण सुरु गरिएको बताउनुभयो ।
उहाँले हेटौडा र दाङबाट १-१ हजार खसी बोका तथा हिमाली जिल्लाहरुबाट १ हजार च्याङ्ग्रा खरिद गर्ने प्रक्रियामा रहेको र केहि आइपुगेर विक्री सुरु गरिएको बताउनुभयो । उहाँले अहिले ढुवानी भाडामा वृद्धि भएपनि कम्पनीले जनतालाई सहुलियत होस भन्ने उदेश्यले बजार मुल्य भन्दा प्रतिकेजी १० रुपैयाँको छुटमा जिउँदो खसी र बोका ६७० रुपैयाँ र च्याङग्रा १२ सय ५० मा बिक्री गरिरहेको जानकारी दिनुभयो ।
उहाँले कम्पनीले भित्र्याएका खसीबोक तथा च्याङग्राको पशु चिकित्सकबाट स्वास्थ परिक्षण गरी विक्री सुरु गरिएको बताउनुभयो । उहाँले नाप तौलमा समेत कुनै अनियमितता नहुने दाबी गर्नुभयो ।
कम्पनीले शुद्ध र स्वस्थ्य खसी–बोकाको सिङमा हरियो र कमसल खसी–बोकाको सिङमा रातो रङ लगाएको छ । खसीबोका बिक्री गर्न थालेपछि खसीबोका लिनेहरुको भीड समेत लागेको छ ।