काठमाडौं, कात्तिक ७ : बडा दसैंअन्तर्गत मंगलबार टीकाको दिन नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको छ।
टीकाको दिन सार्वजनिक सवारी कम चल्ने हुँदा सेवाग्राहीलाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरीले जानकारी दिएको छ।
बस सेवा बिहान ८ः३० बजेबाट सुरू हुने छ। दुईवटा बसले सेवा दिने प्रहरीले जानकारी दिएको छ।
बस दुईवटा रूटमा चल्ने छ।
रूट नम्बर १ नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लखनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल, बालुवाटार, शिक्षण अस्पताल महाराजगञ्ज, चक्रपथ हुँदै चल्ने छ।
दोस्रो रूट चावहिल, सुकेधारा, चक्रपथ, शिक्षण अस्पताल महाराजगञ्ज, बालुवाटार, नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकसम्म सञ्चालन हुने छ।दुवै बस सेवा बिहान ८ः३० र अपराह्न ४ बजे गरी दुई सिफ्टमा सञ्चालन हुने छ।