कम्बाेडियामा ३ हजार कराेड डलर लगानी गरेकाे प्रमाणित गर्नेलाई १ हजार थपेर दिन्छु : ओली

admin

काठमाडौं, कात्तिक १३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा तीन हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरूलाई प्रमाणित गर्न चुनाैती दिनुभएकाे छ ।

आज साेमवार एमाले गण्डकी प्रदेशकाे शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले आराेप लगाउनेहरूले त्यसलाई प्रमाणित गरे थप एक हजार थपेर सबै शेयर दिने बताउनुभएकाे हाे । एमालेलाई बदनाम गराउन आफूमाथि विभिन्न किसिमका आरोप लगाइएको उहाँकाे भनाइ छ ।

‘कम्बोडियामा गएर बुझेर मैले तीन हजार करोड लगानी गरेको प्रमाणित गर्नुस् । त्यसमा बक्सिस एक हजार पनि थपेर सबै शेयर दिन्छु’, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले देशमा राजनीतिक रूपमै डकैती भइरहेको आरोप लगाउनुभयाे । भन्सार र विमानस्थलबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उहाँको आरोप छ । उहाँले देश टाट पल्टिने अवस्थामा पुगेको दाबी गर्नुभयाे ।

ओलीले आफू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कहिल्यै नझुक्ने बताउँदै दुर्गा प्रसाईंलाई पक्राउ गरिदिनुपर्‍याे भनेर नभनेकाे उल्लेख गर्नुभयाे ।

‘मैले दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ’, उहाँले भन्नुभयाे, ‘त्यस्ताहरूसँग शिर झुक्दैन । भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन ।’

अध्यक्ष ओलीले २०८४ सालकाे चुनावमा एमालेले एकलौटी जित्ने दाबी गर्नुभयाे । कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतले अब आउने चुनावमा एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया