भूकम्पपीडितको उद्धार, उपचार र राहतमा सबै जनशक्ति परिचालन गर्छौं : गृहमन्त्री श्रेष्ठ

admin

काठमाडौं, कात्तिक १८ : सरकारले भूकम्पपीडितको उद्धार, उपचार र राहत लगायतका काममा सम्पूर्ण जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

शनिबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकले उद्धार, उपचार र राहत अहिलेको मुख्य नीति भएकाले यसमा सवै जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो । बैठकमा श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशन समेत दिनुभयो ।

अहिले मुख्य केन्द्र सुर्खेत र उपकेन्द्र नेपालगंजलाई तोकेर परिचालन र राहतका काम एकद्धार प्रणालीका साथ अघि बढाउने उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाले तीन तहका सरकारबीच समन्वयका साथ उद्धार, उपचार र राहतका काम भइरहेको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका लागि केन्द्रीय राहत व्यवस्थापन कोषबाट ५–५ करोड तुरुन्तै पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

भूकम्पका कारण अवरुद्ध सडक खुलाउन सडक विभागलाई निर्देशन दिएको, प्रभावित क्षेत्रमा कम्बल, पाल र खानेकुराको व्यवस्थापन पनि भइसकेको उहाले जानकारी दिनुभयो ।

उहाले छिमेकी मुलुकले पनि सहयोगका लागि तयारी अवस्थामा रहेको जानकारी पठाएको भन्दै भारत र चीनलाई धन्यवाद दिदै अहिले खोज तथा उद्धार टोली आवश्यक नरहको जवाफ दिएको बताउनुभयो ।

शुक्रबार राती जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाइ गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका कतिपय ठाउँमा मानवीय र भौतिक क्षति पु¥याएको छ ।

प्रतिक्रिया