प्रधानमन्त्रीलाई मधेश प्रदेश सरकारको ६ बुँदे ध्यानाकर्षण

admin

काठमाडौं, कात्तिक २३ : मधेस प्रदेश सरकारले प्रदेश प्रहरी समायोजनलगायत ६ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

संघीयताको ८ वर्ष बितिसक्दा समेत प्रदेश सरकारले पूर्ण संवैधानिक अधिकार प्रयोग गर्न नपाएकोले केन्द्रिय सरकारलाई ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताउनुभयो ।

उहाँले प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थसम्बन्धी समस्या र अभियोजनका विषयमा आधारित भई ध्यानाकर्षणपत्र बुझाइएको जानकारी दिुनभयो । काम गर्न कर्मचारी नरहेको र संघबाट आएका कर्मचारीको काम गर्ने शैली फरक रहेकाले समस्या भइरहेको उहाँले बताउनुभयो ।

आफू मुख्यमन्त्री बनेको ८ महिनामै तीन मुख्य सचिवको सरुवा भएको उहाँले गुनासो समेत गर्नुभयो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मागहरू जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्री यादवले बताउनुभयो । उहाँले ३० दिनभित्र आफ्ना मागहरु सम्बोधन नभए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

मुख्यमन्त्री यादवले अन्य ६ प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, सांसद र स्थानीय तहका जनप्रतिनिधिसँग पनि संवैधानिक अधिकार कार्यान्वयनका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराउन आह्वान गर्नुभयो ।

प्रतिक्रिया