काठमाडौं, कात्तिक २४ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको पूर्ण रुपले कार्यान्वयन गर्न तीनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौँको शोभाभगवतीमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले अहिले संविधान पूर्ण रुपले कार्यान्वयन नहुँदै यसका विषयमा नकारात्मक टिप्पणी हुनु गलत भएको भन्दै तीनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले स्थानीय, प्रदेश र संघीय सरकारले प्रभावकारी काम गरे संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रति नकारात्मक टिप्पणी नहुने बताउनुभयो । नेता सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान गठबन्धन बनेको भन्दै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताउनुभयो ।
असंवैधानिकरूपमा संसद् विघटन गरिएको र कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको दाबी समेत गर्नुभयो ।
जनतालाई अधिकार सम्पन्न बनाउन गणेशमान सिंह सदैव लडेको स्मरण गर्दै कसैबाट पनि जनअधिकार कुण्ठित गर्ने कुरा स्वीकार्य नहुने भएकाले प्राप्त अधिकार रक्षार्थ सबै एकजुट भएर अघि बढ्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाइ थियो ।