छठ पर्वको आज दोस्रो दिन ‘खरना’

admin

काठमाडौं, मंसिर २ : छठ पर्वको आज (शनिबार) दोस्रो दिन, खरना गरी मनाइँदै छ । शुक्रबारबाट सुरु भएको यस वर्षको छठ पर्वको आज खरना हो ।

छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यसदिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ ।

शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतातुले कार्तिक शुक्ल पञ्चमीका दिन आज दिनभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् ।

पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरेका छन् । षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ । यसलाई ‘सँझियाघाट’ भनिन्छ । यसको भोलिपल्ट सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।

छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ । छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया