काठमाडौं, मंसिर ५ : जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद तथा निर्माण व्यवसायी हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन् ।
पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गरेका हुन् ।
ओलीले उनलाई फूलमाला र टीका लगाएर पार्टी भित्र्याए । रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्यविना देवीलगायत विभिन्न पार्टीका सयौं नेता कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गरे ।
रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित भएका थिए । उनी पप्पु कन्ट्रक्सनका पूर्वसञ्चालकसमेत हुन् । पछिल्लो २ वर्षमा पर्सामा विभिन्न दलका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेसँगै त्यहाँका करिब एक तिहाइ स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभामा एमालेले बलियो उपस्थिति जनाएको छ ।
रौनियारको नेतृत्वमा जसपाका अन्य केही कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका छन् । साथै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी र उनका समर्थकहरु पनि एमाले प्रवेश गरेका छन् ।