क्यानडाको राजदूतमा भरतराज पौड्यालको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

admin

काठमाडौं, मंसिर १० : संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन गरेको हो । यसअघि समितिको कार्तिक १५ गते बसेको बैठकले पौड्यालबिरुद्ध उजुरी आह्वान गरेको थियो भने यसबीचमा पौड्यालबिरुद्ध दुईवटा उजुरी परेको थियो ।

उजुरीकर्तामध्ये सम्पर्कमा आएका एकजनासंग समितिले आइतबार नै छलफल गरेको थियो । उजुरी लगाएत भावी कार्ययोजनाका बारेमा छलफल गरि समितिले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

संसदीय सुनुवाइ समितिको सुनुवाईका क्रममा समिति सदस्यहरुको जिज्ञासामा प्रस्तावित राजदूत पौड्यालले यसअघि पनि सचिवलाई राजदूत सिफारिस गर्ने प्रचलन रहेको बताउनुभयो । सरकारलाई आएको छात्रवृतिमा छोरीलाई विदेश पठाएको उजुरी पनि साँचो नरहेको उहाले बताउनुभयो । पौड्यालले आफु राजदूतमा नियुक्ती भएमा क्यानडामा रहेका नेपालीहरुको समस्या समाधान गर्न र दुईपक्षीय सम्बन्ध विस्तार गर्न ध्यान केन्द्रीत हुने जिकिर गर्नुभयो ।

हाल परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैर आवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सुनुवाई समितिले अनुमोदन गरेसंगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया