आज कार्तिक शुल्क पूर्णिमा, सकियो चतुर्मास

admin

काठमाडौं, मंसिर ११ : कार्तिक शुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा। पञ्चाङ्गमा सोमबार १९ घडी ३० पला अर्थात् दिउँसो २ बजेर २३ मिनेटसम्म पूर्णिमा तिथि रहेको उल्लेख छ।

चतुर्मास पूरा हुने दिनको रूपमा यसको महत्त्व छ। वैष्णव परम्पराअनुसार आषाढ शुक्ल एकादशीमा शुरु भएको चतुर्मास यसै दिन सम्पन्न हुन्छ। कार्तिक कृष्णपक्षमा शुरु भएको कार्तिकस्नान पनि यसै दिन समापन हुन्छ। कार्तिक शुक्ल एकादशीमा लागेको भीष्मपञ्चक पनि यही पूर्णिमामै पूरा हुन्छ।

भगवान् शिवले यसैदिन त्रिपुरासुर नामक दानवको अन्त्य गरेको पुराणमा उल्लेख छ। यसैले यो दिनलाई त्रिपुरी पूर्णिमा पनि भनिन्छ। यो दिन पवित्र नदी तलाउमा स्नान गर्ने र चन्द्रमा उदय भएपछि साँझ शिवजीको पूजा गर्ने विधान छ। शिवा, संभूति, संतति, प्रीति, अनुसूया र क्षमा नामका कृतिकाको पूजा गर्ने विधान पनि पुराणमा छ।

कात्तिके पूर्णिमाका अवसरमा सुनसरीको धरानस्थित बराहक्षेत्र, खोटाङको बराहपोखरी र डोटीको शैलेश्वरीजाँतमा धार्मिक मेला लाग्छ। काठमाडौं उपत्यकामा लागेको चार नारायणको मेला पनि सोमबार नै पूरा हुँदैछ। यो पूर्णिमा लाई नेपाल भाषामा ‘सकिमन पून्हि’ भनिन्छ।

प्रतिक्रिया