काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही व्यक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाएर देशमा अराजकता सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ ।
छैटाैँ सामाजिक सुरक्षा दिवसको अवसरमा आज साेमवार भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गणतन्त्रविरुद्ध भ्रम फैलाएर देशमा अराजकता सिर्जना गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले इतिहास पछाडि नफर्किने कुरा स्पष्ट रहेको पनि बताउनुभयो । अग्रगमनतर्फ अघि बढेको नेपाली समाजलाई फेरि पछाडि फर्काउन खोज्नेहरूलाई कदापी सफल हुन नदिइने प्रचण्डले चेतावनी दिनुभयाे ।
गणतान्त्रिक व्यवस्थामा ल्याउन भूमिका खेलेका राजनीतिक दल र नेताहरू मिलेर अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ छ । उहाँले अर्थतन्त्रका समस्या समाधान गर्नका लागि सरकारले पहल गरिरहेको पनि जानकारी दिनुभयो ।