नेपालबाट बाहिरिने आजियाटाको निर्णय , एनसेल बिक्रीमा

admin

काठमाडौं, मंसिर १३ : आजियटा समूह नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने भएको छ ।

सञ्चालक समितिले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियटाले जनाएको छ ।

कम्पनीकाअनुसार बोर्डले नेपालबाट बाहिरिने र एनसेलमा रहेको सेयरहरुलाई बिक्रीका लागि राख्ने निर्णय गरेको हो । कम्पनीले भनेको छ, ‘हामीलाई लागछ हाम्रो यो कदमले आफ्ना रणनैतिक प्राथमिकताहरुलाई पुरा गर्नेछन् र हाम्रा लगानीकर्ताहरुको दीर्घकालिन फाइदामा सहयोग पुर्याउनेछन् ।’

सरकारले वैदेशिक लगानीलाई आकर्षित गर्न लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा नेपालमा भित्रिएको ठूलो वैदेशिक लगानीकर्ता नेपालबाट बाहिरिने भएको हो । आजियटाले नेपालको दूरसञ्चार कम्पनी एनसेलमा रहेको आफ्नो सेयर बेचेर बाहिरिने निर्णय गर्दा यसबाट वैदेशिक लगानीकर्ताहरुलाई नकारात्मक सन्देश जाने निश्चित छ ।

एनसेलले आफ्नो व्यवसाय विस्तार हुन नसकेको र आम्दानी घट्दै गएको कारण देखाउँदै आजियता बाहिरिने लागेको जनाएको छ । सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०१८ मा ५९ अर्ब ८१ करोड ७० लाख रुपैयाँ, सन् २०१९ मा ५५ अर्ब ३९ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा ४६ अर्ब ८७ करेड ४० लाख रुपैयाँ र सन् २०२१ मा ४० अर्ब ४२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २०१७ को तुलनामा सन् २०२३ मा २० अर्ब कम व्यापार गरेको छ । एनसेलले पछिल्लो समय आफ्नो बजार गुमाउँदै गएको जनाएको छ ।

एनसेलले दूरसञ्चार क्षेत्रमा नेपाली बजारको ५४ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२० मा कम्पनीको ६१ प्रतिशत बजार हिस्सा थियो । कम्पनीअनुसार एनसेलको प्रयोगकर्ता घट्दा बजार हिस्सा घट्दै गएको जनाएको छ ।

सन् २००१ मा स्पाइस नेपाल प्रालिको रुपमा स्थापित कम्पनीले सन् २००५ मा व्यवसाय सुरु गरेको थियो । कम्पनीले सुरुमा मेरो मोबाइल ब्रान्डमा दूरसञ्चारको सेवा दिँदै आएको थियो ।

युरोपियन टेलिकम जाइन्ट टेलियासोनेराले स्वामित्व लिएपछि कम्पनीले ‘एनसेल’ ब्रान्डको नाममा सेवा दिँदै आएको छ । साथै, कम्पनीले सन् २०१६ मा एनसेल प्रालिको रुपमा कम्पनीको नाम परिणत गरेको थियो ।

आजियटा ग्रुप बेर्हदले प्राप्ति गरेको गरी रेनल्ड होल्डिङ लिमिटेड अफ इन्डिजको नाममा ८० प्रतिशत र सुभिनेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्व छ । नेपालको ५० प्रतिशत भ्वाइस क्षेत्रको हिस्सा रहेको एनसेलले सन् २०२२ मा ५७ प्रतिशत आम्दानी डाटाबाट गरेको थियो ।

कम्पनीअनुसार सन् २०२१/२२ मा नेपालको कुल ग्राहस्थ उत्पादनमा १.३ प्रतिशत योगदान छ । एनसेलले हालसम्म नेपाल सरकारलाई २ खर्ब ८३ अर्ब बढी कर तिरेको सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । त्यसबाहेक एनसेलले २० अर्ब रुपैयाँ बढी कर र शुल्क र १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी सामाजिक कार्यमा योगदान गरेको जनाएको छ ।

त्यस्तै, एनसेलले नेपाल सरकारको राजश्व संकलनमा १.९ प्रतिशत योगदान रहेको कम्पनीको सन् २०२१/२२ को रिपोर्टले देखाएको छ । कम्पनीले हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी साढे २३ हजार बढीलाई रोजगारी दिएका छन् ।

प्रतिक्रिया