चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडाका खागसहित ८ जना पक्राउ

admin

काठमाडौं, मंसिर १४ : चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् ।

बिहीबार राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गरिएको हो ।

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए ।

अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोे तस्कर पक्राउ गर्न खटिएको थियो । मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ परेका जनाइएको छ ।

पक्राउ परेकाहरुमा मकवानपुरका रमेश खाती, चितवनका पासाङ भनिने आइते सिंह मोक्तान, मकवानपुरका समसेर थिङ, मकवानपुरकै सिताराम थिङ, रोल्पाका अर्जुन रोका, गोरखाका धनवहादुर गुरुङ, चितवनका उन बहादुर स्याङतान र मकवानपुरका इन्द्र बहादुर तामाङ रहेको निकुञ्जका वार्डेन दिल बहादुुर पूर्जा पुनले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले चाडपर्वमा बेला मौका छोपेर गैडालाई मारेको देखिएको जानकारी दिनुभयो । उहाले उक्त घटनापछि पाठ सिकेको र आगामी दिनमा यस्ता घटना हुन नदिन थप गम्भीरता अपनाउने जिकिर गर्नुभयो ।

त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरोेका प्रवक्ता नवराज अधिकारीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको बताउनुभयो । उहाले गैडा मारेपछि खाग किन्नेहरुको खोजीमा रहेका बेलमा पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो ।

गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपछि उनीहरूबाट दुई वटा खागसमेत बरामद गरिएको छ । सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् ।

प्रतिक्रिया