बेलायती कम्पनीले किन्यो एनसेलको ८० प्रतिशत शेयर

admin

काठमाडौं, मंसिर १५ : आजियटाले ६ अर्ब ६५ करोड रुपैयाँमा स्पेक्ट्रलाइट यूकेलाई एनसेल बेचेको छ । आजियटा समूहले ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस् होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट यूके लिमिटेडसँग बिनासर्त बिक्री गर्ने सम्झौता गरेको हो ।

स्पेक्ट्रलाइट यूके नेपाली मूलका सिंगापुर निवासी शतिशलाल आचार्यको कम्पनी हो । स्पेक्ट्रलाइट दुई महिनाअघि मात्रै सन् २०२३ सेप्टेम्बरमा खुलेको कम्पनी हो । कम्पनीमा शतिशलाल र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी छ ।

कम्पनी खुल्नु र आजियटाले आफ्नो सेयर बिक्री गर्ने निर्णय गर्नु एकै समयमा हुनु संयोगमात्र नहुनसक्छ । सेप्टेम्बर २९ मा आजियटाको बोर्डले आफ्नो सेयर बेच्ने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ । तर, विज्ञप्ति २ महिनापछि नोभेम्बर २९ मा सार्वजनिक गरिएको थियो ।

नेपालबाट फिर्ता जाने आजियटाको निर्णय नेपालको व्यावसायिक वातावरणको गहन मूल्यांकनमा आधारित भएको भन्दै आजियटाले अनुचित कर र नियामक अनिश्चितताको वर्तमान परिस्थितिमा सञ्चालन जारी राख्नु ठिक नभएको निष्कर्षमा पुगेको थियो ।

आजियटाले सन् २०१६ मा एनसेलमा रहेको रेनोल्डस् होल्डिङको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको थियो ।

दोहोरो करको परिदृश्यबाट उत्पन्न हुने आसन्न र अस्तित्वको जोखिमलाई ध्यानमा राख्दै र सन् २०२९ मा कम्पनीको इजाजतपत्रको म्याद समाप्त हुने अतिरिक्त जोखिम, त्यसपछि आजियटाको हिस्सेदारी स्वत: सरकारको नाममा जाने र नेपालमा विदेशी लगानी संरक्षणको प्रतिकूल वातावरणलाई ध्यानमा राख्दै आजियटाले एनसेलको सेयर बिक्री गर्ने निर्णय लिएको जनाएको छ ।

आजियटाले ५ करोड अमेरिकी डलरमा आफ्नो स्वामित्वको सेयर बेचेको स्पष्ट पारेको छ । जसमध्ये ५० लाख डलर ६ महिनाभित्र र बाँकी चार वर्षपछि भुक्तानी गर्ने गरी बेचेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

आजियटा र एनसेलले नेपालको राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आजियाटाका अध्यक्ष तान सहरिल रिड्जा रिड्जुआनले बताएका छन् । सात वर्षको अवधिमा एनसेलले आजियटालाई २ अर्ब २ करोड रुपैयाँ लाभांश दिएको छ ।

प्रतिक्रिया