भारतमा युवती बेच्ने महिला पक्राउ

admin

काठमाडौं, मंसिर १५ : आकर्षक रोजगारीको प्रलोभनमा पारी भारतमा युवती बेच्ने महिला पक्राउ परेकी छन्।

सुर्खेत दैलेख लगायतका पहाडी जिल्लाहरूबाट महिलालाई भारतमा लगी बेच्ने बाँके बैजनाथकी ३९ वर्षीया मुनाकुमारी मल्ल पक्राउ परेकी हुन्। उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले हिजो नेपालगञ्जबाट पक्राउ गरी पाँच दिनको म्याद थप गरेको छ।

अनुसन्धानका क्रममा उनले नयाँदिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक नाबालिकासहित २ युवतीलाई बेचेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

उनका अनुसार पीडित दुवैजनालाई किन इण्डिया, शक्ति समूह र भारतीय प्रहरीसमेतको सहयोगमा गत साउन २९ गते नै उद्धार गरिएको छ।

पीडितहरूलाई दिल्लीबाट अर्को ठाउँमा समेत यौन गतिविधिमा पठाउने गरेको र उनीहरू भागेर हिँड्दा खोजी गरेर समाती फेरि सोही गतिविधिमा संलग्न गराएको पाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया