काठमाडौं, मंसिर २० : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक समिक्षा जारी गर्ने बताउनुभएको छ ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा गर्भनर अधिकारीले अर्थसचिव कृष्णहरी पुष्कर स्वदेश फर्किएपछि मौदिक नीतिको त्रैमासिक समिक्षा जारी गर्ने जानकारी दिनुभएको हो ।
उहाले राष्ट्र बैंक एक्लै अघि नवढ्ने भन्दै अर्थमन्त्रालयसंगको समन्वयनका आधारमा नै अघि बढ्ने जिकिर गर्नुभयो । मौद्रीक नीतिको कार्यान्वयमा कुनै समस्या नरहेको उहाले बताउनुभयो ।
गभर्नर अधिकारीले अघिल्लो आर्थिक वर्षको असोजमा वाणिज्य बैकहरूको औसत आधार दर १०.३४ प्रतिशत रहेकामा २०८० असोजमा ९.९४ प्रतिशत, एकल अंकमा झरेको जानकारी दिनुभयो ।
२०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको र सोहि अवधिको अघिल्लो बर्ष भन्दा १ प्रतिशतले कम भएको उहाले बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको र लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको बताउनुभयो ।
उहाले बाह्य क्षेत्रको सुधारसँगै वैकिङ क्षेत्रको तरलतामा पनि सुधार भएको, मौद्रिक नीतिको लचक कार्यदिशा र तरलतामा आएको सुधारले अल्पकालिन र दीर्घकालीन व्याजदरहरू घटिरहेको जानकारी दिनुभयो ।