चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत

admin

काठमाडौं, मंसिर २५ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संसोधनको प्रकृयाबाट सरकार पछि नहट्ने बताउनु भएको छ ।

सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा अभियन्ता डा. गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री बस्नेतले कोही सुत्छु भन्दै सरकार ऐन संशोधाबाट पछि नहट्ने बताउनु भएको हो ।

चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले गर्दा नेपालमा मेडिकल शिक्षा जुन ढङ्गले अघि बढ्नु पर्ने हो त्यसो हुन नसकेको उहाँको भनाई थियो ।

चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । चिकित्सा क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम भइरहेको बताउँदै उहाँले यसलाई थप गरेर अघि बढ्ने बताउनुभयो ।

सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पतालहरूलाई नर्सिङ् र प्यारामेडिकस् पढाउन दिने र तीन सयभन्दा बढी शय्या भएका अस्पतालहरूलाई एमबिबिएस पढाउन दिने गरी खुकुलो पार्न लागेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले सूर्तीजन्य पदार्थमा लगाइँदै आइएको कर अब स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया