पशुपतिमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज नागरिकलाई देखाइँदै

admin

काठमाडौं, मंसिर २६ : पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिने भएको छ । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई देखाउने गरिन्छ ।

मंसिर कृष्ण पक्षको औँसीका दिन आज भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनेर देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । यस वर्ष त्रयोदशीका दिन अस्ति आइतवार नागरिकका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो ।

आज अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई आज भण्डारको तेस्रो तलामा राख्नुअघि बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी देखाइँदै छ ।

आज बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हरेक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ ।

यसैबीच, आज पशुपति क्षेत्रमा सरसफाइ हुँदैछ । बालाचतुर्दशीका दिन हिजो शतबीज छर्दा जम्मा भएको फोहर आज सफा गर्न लागिएको कोषले जनाएको छ । सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ ।

प्रतिक्रिया