काठमाडौं, मंसिर २७ : पश्चिमी वायुको प्रभावले आज देशका पहाडी भूभागका केही स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने भएको छ।
अहिले बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू्भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि बिहीबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यत: सफा रहनेछ। राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।