भारतमा एकै दिन ७८ विपक्षी सांसद निलम्बित

admin

काठमाडौं, पुस ३ : भारतको संसदबाट एकैदिन ७८ जना विपक्षी सांसदहरू निलम्बनमा परेका छन् । लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसदहरू निलम्बित भएका हुन् ।

संसदमा भएको सुरक्षा गल्तीका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जवाफ मागेर विपक्षी सांसदहरूले लगातार विरोध गर्दै आएका थिए ।

विपक्षीको विरोधका कारण बैठकमा अवरोध हुँदै आएको थियो । सरकारको प्रस्तावमा दुवै सभाका अध्यक्षहरूले संसदमा विरोध प्रदर्शनमा उत्रिएका विपक्षी दलका सांसदहरूलाई हिजो निलम्बन गरेका हुन् ।

जारी संसद्को शीतकालीन सत्रभरका लागि सांसदहरूलाई निलम्बन गरिएकाे बीबीसी हिन्दीले जनाएको छ । लोकसभामा विपक्षी दलका नेता कांग्रेस सांसद अधिर रञ्जन चौधरी पनि निलम्बित हुनुभएको छ ।

गएको बुधवार दुई जना युवाहरू दर्शकदीर्घाबाट बैठक चलिरहेकै बेला संसद् कक्षमा कुदेर प्रदर्शन गरेका थिए । उनीहरूले संसदमा पहेँलो रंगको धुवाँ फैलाएका थिए ।

संसद् भवनमा आतङ्कवादी हमला भएको २२ वर्ष पुगेकै दिन पाँच तहको सुरक्षा व्यवस्थालाई झुक्याएर दुई युवाले संसद् बैठक कक्षमै प्रदर्शन गरेका हुन् ।

यसअघि २००१ को डिसेम्बर १३ मा संसद् भवनमाथि आतङ्कवादी हमला भएको थियो । त्यही दिन पारेर भएको नयाँ घटनालाई विपक्षी सांसदहरूले संसद्को सुरक्षामा ठूलो गल्ती भएको भन्दै सरकारमाथि प्रश्न उठाइरहेका छन् ।

प्रदर्शन शुरु भएकैदिन लोकसभाबाट १३ र राज्यसभाबाट १ जना गरी १४ सांसदलाई निलम्बन गरिएको थियो । हिजो समेत गरी लोकसभाबाट ४६ र राज्यसभाबाट ४६ गरी ९२ जना सांसद निलम्बित भएका छन् ।

प्रतिक्रिया