प्रधानमन्त्री कप महिला टी २० : प्लेअफमा पुग्ने चारै टोलीको टुंगो

admin

काठमाडौं, पुस १२ : काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा प्लेअफ खेल्ने चार टोलीको टुङ्गो लागेको छ ।

बिहीबार बागमती प्रदेशले कर्णालीलाई १० विकेटले हराएसँगै प्लेअफ खेल्ने सबै टोलीको टुङ्गो लागेको हो । प्लेअफमा एपिएफ, कोशी, सुदूरपश्चिम र बागमती पुगेका हुन् ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जितको लागि ४३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बागमतीले ४.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली १३.४ ओभरमा ४२ रनमा अल आउट भयो ।

त्यस्तै बिहीबार नै उपाधि दाबेदार एपिएफ क्लबले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्यो । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनायो । त्यस्तै अर्को खेलमा कोशीले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै प्लेअफमा प्रवेश गर्न सफल भयो ।

जितको लागि एक सय १९ रनको लक्ष्य पछ्याएको कोशीले १७.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । पराजित भएपनि सुदूर पनि तेश्रो स्थानका साथ प्लेअफमा पुगेको हो ।

त्यस्तै बिहीबार नै मधेश प्रदेशले लुुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । जितको लागि ९७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मधेशले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

प्रतिक्रिया