प्रधानमन्त्री कप महिला टि–२० : बागमतीलाई हराउँदै सुदूरपश्चिम क्वालिफायरमा

admin

काठमाडौं, पुस १३ : सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगिताको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

टियु क्रिकेट मैदानमा आइतबार भएको एलिमिनेटर खेलमा बागमती प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा पुगेको हो । फाइनलमा पुग्न सुदूरपश्चिमले पहिलो क्वालिफायरमा पराजित भएको कोशी प्रदेशसँग खेल्नेछ ।

जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको सुदूरले १४.३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बागमती १९ ओभरमा ९९ रनमा अल आउट भयो ।

त्यसअघि आइतबार भएको पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै एपिएफ फाइनलमा पुगेको छ । जितको लागि १ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रन मात्रै बनायो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । दोस्रो क्वालिफायरमा सोमबार कोशी र सुदूरपश्चिमबीच हुनेछ । बिजयी हुने टीमले बुधबार एपिएफसंग फाइनल खेल्नेछ ।

 

प्रतिक्रिया