किराँत समुदायले मनाए साकेला उधौली पर्व

admin

काठमाडौं , पुस २१ : किरात समुदायले काठमाडौंको टुँडिखेलमा साकेला उधौली मनाएका छन् । किरात राई यायोक्खा काठमाडौंको आयोजनामा सकेला उधौली कार्यक्रमको आयोजना गरिएको हो ।

किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ ।

पुष १० गते मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाइएपछि शनिबार भने साकेला उधौली उत्सवको आयोजना गरिएको हो ।

देशका विभिन्न जिल्लाबाट काठमाडौं आएर बसिरहेका किराती समूदायहरुले साकेला शिली नाच्दै शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले नेपाल बहुसांस्कृतिक, बहुभाषिक फूलवारी रहेकाले यसलाई बचाइराख्नुपर्ने बताउनुभयो ।

उहाले मुलुकको आर्थिक बिकासको मेरुदण्ड पर्यटन भएकाले नेपालीपनको पर्यटन हुनुपर्ने धारणा राख्नुभयो । मन्त्री किराँतीले रैथाने स्वाद र स्वामित्वसहितको पर्यटनको बिकास हुनुपर्ने बताउनुभयो ।

साकेला पर्वमा परम्परागत वेशभूषामा सजिएर इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच नाच्ने गरिन्छ ।

किरात समुदायले अन्नबाली भित्र्याएको खुसियाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ । किराती समुदाय, विशेषगरी सुनुवार, राई, लिम्बू र याख्खाहरूले मंसिर पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउँछन् ।

प्रतिक्रिया