काठमाडौं , पुस २३ : एक सय ५२ यात्रु राखेर काठमाडौंबाट बैंककतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार दुईपटक उड्ने प्रयास गर्दा पनि सकेन ।
दुई पटक प्रयास गर्दा पनि उड्न नसकेपछि उक्त जहाजबाट बैंकक जान लागेका एक सय ५२ जना यात्रु अलपत्र परेका छन् ।
नेपाल वायुसेवा निगमको आरए४०१ उडान नम्बरको न्यारोबडी जहाज एक सय ५२ यात्रु बोकेर काठमाडौंबाट बैंककतर्फ उड्न लागेको थियो । त्यसक्रममा दुई पटक प्रसार गर्दा पनि जहाज उड्न नसकेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाकाअनुसार प्राविधिक समस्या दुई पटक देखिएपछि विमानलाई पार्किङ्ग वेमा लगिएको छ भने यात्रु टर्मिनल भवनमा फर्काइएका छन् ।
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जहाजको हाइड्रोलिक सिस्टममा समस्या देखिएको जानकारी गराए । दिउसो २ बजेर ४० मिनेटमा उड्नुपर्ने जहाज निगमले बेलैमा नउडाउँदा यात्रुहरु चेकइन काउन्टरमा आन्दोलन गरिरहेका छन् ।