काठमाडौं, पुस २६ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीको स्वार्थका कारण युरोपिएन युनियनले नेपाल माथि लगाएको हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले केहि कर्मचारी र पार्टीको स्वार्थका कारण नागरिक उड्डयन ऐन अघि बढ्न नसकेको र जसका कारण हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको बताउनुभएको हो ।
उड्डयनको नियमक र सेवाप्रदायक छुट्टै बनाउने कानूनमा कर्मचारीले विरोध गर्दा तत्कालिन अवस्थामा मन्त्री र प्रधानमन्त्री कानून ल्याउनबाट पछि हटेको उहाले तर्क गर्नुभयो ।
उहाले अहिले पनि यसअघिको नागरिक उड्डयन ऐनलाई अघि बढाउन सके दुईहप्तामा पास हुन सक्ने धारणा राख्नुभयो ।
आफुहरुले युरोपिएन युनियनका पदाधिकारीसंग यस बिषयमा कुरा राखेपनि मुलुकमा भने सरोकारवालाले अग्रसरता लिन नसकेको गुनासो गर्नुभयो ।
उहाले स्वार्थका आधारमा देश चलाउदा बेथिति बाहेक केहि नहुने जिकिर गर्नुभयो । इमान्दारीपूर्वक लागे देश बनाउन कुनै समस्या नरहेको उहाको भनाइ छ ।