काठमाडौं,माघ ४ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन सरकारका प्रमुख प्राथमिकता भएको बतानुभएको छ ।
वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को २४औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठले बिगतका कमीकमजोरीलाई सुधार गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको लक्ष्यमा सरकारअघि बढिरहेको बताउनुभएको हो ।
युवा र श्रमिकलाई बाहिर पठाउदै मुलुकलाई बृद्धाश्रम बनाउने दिशामा सरकार कदापी नलाग्ने उहाको भनाइ छ । उहाले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख क्षेत्र जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाले देशभित्र बिजुलीको खपत बढाउनुपर्ने र बचेको बिजुली बेचे व्यापारघाटा कम गर्न सरकार लागेको बताउनुभयो ।
त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले वर्षायाम र सुक्खायामका बीचमा ऊर्जा उत्पादनमा रहेको अन्तरलाई घटाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाले निर्माणाधीन आयोजनालाई शीघ्ररूपमा सम्पन्न गर्ने वातावरण बनाउनैपर्ने, जलाशयुक्त आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो ।