काठमाडौं,माघ ५ : ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका सिचाई आयोजना निर्माणमा बजेटको कमी हुन नदिने बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले बिभिन्न सिचाई आयोजनाहरु लामो समयदेखि निर्माणाधिन रहेको भन्दै उक्त आयोजनाहरुलाई बजेटको कमी हुन नदिने बताउनुभएको हो ।
सिचाई आयोजना निर्माणलाई निरन्तरता दिइएको र पूर्ण रुपमा सम्पन्न नभएपनि जनताले भने त्यसबाट लाभ लिइरहेको उहाले बताउनुभयो । मन्त्री बस्नेतले राष्ट्रिय गौरवका सिचाई आयोजना निर्माणमा केहि ढिलाई भएकाले समयतोकेरै सम्पन्न गर्नेगरि काम अघि बढेको धारणा राख्नुभयो ।
त्यस्तै उहाले सुख्खा याममा विधुतको आयात घटाउन उत्पादन बढाउनुपर्ने र जलाशययुक्त आयोजनाहरुमा ध्यान दिनुपर्ने बताउनुभयो । जलाशाययुक्त आयोजनाहरु निर्माण गर्दा लागत महङ्गो हुन जाने र नाफा पनि कम हुने भएकाले त्यस्ता आयोजनामा लगानी आकर्षित गर्न नसकिएको मन्त्री बस्नेतको भनाई छ ।
समिति सभापति दिल कुमारी रावलले राष्ट्रिय गौरवका आयोजनामा बजेटको कमी हुन नदिने प्रतिवद्धता सरकारबाट आएपनि बजेट अभावको गुनासो आउने गरेकाले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसंग छलफल गर्ने बताउनुभयो ।