काठमाडौं,माघ ६ : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कन लागेको बताउनुभएको छ ।
सम्पादक समाज नेपालले शनिबार नुवाकोटमा आयोजना गरेको वियोगी पत्रकारिता पुरस्कार एवं सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले आफुले अर्थमन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड रहेको भन्दै अहिले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कन लागेको बताउनुभएको हो ।
हिसाबकिताब नदेखिने र दायित्वमाथि दायित्व सिर्जना हुने अवस्थाको अन्त्य गर्न खोज्दा स्वार्थ समूह बेखुशी रहेको उहाले बताउनुभयो । उहाले बजेट व्यवस्थापन विस्तारै सिस्टममा ल्याउने जिकिर गर्नुभयो ।
उहाले जग्गा कारोबार चलायमान भएको, नेप्से परिसूचक उकालो लागेको र धेरै वर्षपछि उच्च संख्यामा पर्यटक भित्रिएको जिकिर गर्नुभयो । महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको भन्दै पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल भएको बताउनुभयो ।
कार्यक्रममा गोविन्द वियोगी पत्रकारिता पुरस्कार, २०८० बाट वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेसहित चार जना सम्मानित भएका छन् । वाग्लेसहित पत्रकारहरु जीवराम भण्डारी, शरण उत्सुक सापकोटा र पत्रकार मन्टेश्वरी राजभण्डारी सम्मानित हुनुभएको हो ।