काठमाडौं,माघ ८ : अबदेखि काठमाडौँको न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नपाइने भएको छ। काठमाडौँ महानगरपालिकाले माघ ९ गते मंगलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको हो।
यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइने महानगरले जनाएको छ । महानगरका अनुसार यस काठमाडौँ टावरमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ् निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको बताए। यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरिएको उनको भनाई छ।
उनका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ् निषेध गरिनेछ । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ् निषेध कार्यान्वयन गरिसकिएको महानगरले जनाएको छ।