मधेसवादी दलको द्वन्द्वले सत्ता गठबन्धनलाई धक्का

admin

काठमाडौं,माघ १० :सत्ता सहयात्रीका दुई घटक जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीचको द्वन्द्वले सत्ता गठबन्धनमा धक्का लागेको छ। दुई मधेसवादी दलबीचको लफडाले सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै सिंगो गठबन्धनलाई धक्का पुगेको हो।

जनमत पार्टीले मंगलबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई दिँदै आएको समर्थन फिर्तासहित सरकारबाट बाहिरिने निर्णय लिएको जनाएको छ।

जनमत पार्टीका अध्यक्ष राउतले सरकारलाई दिएको समर्थन फिर्तासँगै मन्त्रीहरूले पदबाट राजीनामा दिएको जानकारी दिँदै भन्नुभयो ‘गठबन्धनभित्र ठूला दलहरूकै हालिमुहाली छ। हामी कम सिट भएकाहरूलाई निर्णय प्रक्रियामा सहभागि गराइँदैन भने हामी गठबन्धनमा रहिरहनुको अर्थसमेत छैन। यद्यपि, हामीले अहिले मधेस प्रदेश सरकारलाई दिएको समर्थन मात्रै फिर्ता लिएका हौं। संघीय सरकार र गठबन्धबाट बाहिरिसकेको अवस्था छैन। अब गठबन्धनभित्र हामीलाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ त्यहीअनुसार राजनीतिक कोर्स अघि बढ्छ।’

केही समययता तराईको राजनीतिमा पकड जमाएको उपेन्द्र यादव नेतृत्वको जसपा र सिके राउत नेतृत्वको जनमत पार्टीबीच शक्ति संघर्ष चलिरहेको थियो।
खासगरी मधेसको राजनीतिमा वर्चस्व कायम रहेको जसपा र शक्ति आर्जन गर्न कम्मर कसेर लागेको जनमतका शीर्ष नेता सिके राउतबीच शक्ति संघर्षका कारण सत्ता गठबन्धनमा फाटो देखिए पनि सरकारलाई ठूलो क्षति भइहाल्ने अवस्था नरहेको नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘गठबन्धनमा सहभागी सबै दलहरूबीच एकताको सन्देश दिएर मुलुक र जनताका लागि काम गर्ने भन्ने हाम्रो उद्देश्य हो। तर, कुनै भूगोल, जात वा धर्म विशेषको राजनीतिक मुद्दा बोकेर आफू आफैंबीच केही साथीहरू जुधेको देखियो यसले गठबनधनमा त खासै असर पर्दैन, तर उहाँहरूको राजनीतिमा दीर्घकालीन असर पर्न सक्छ।’

सिके राउत र उपेन्द्र यादवको झगडामा गठबन्धन फस्न नहुने उहाँको भनाइ छ। सत्ता गठबन्धनका शीर्ष नेताले राष्ट्रिय सभा सदस्य निर्वाचनमा समेत बेवास्ता गरेपछि सरकारमा बसिरहनुको औचित्य नभएको जनमत पार्टीका नेताहरूले बताएका छन्।

उता, राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग नपाएको जनमतले दुई जना उम्मेदवार खडा गरेपछि सत्ता गठबन्धनमा जनमत पार्टीलाई सरकारबाट हटाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयारी गर्नुभएको थियो।

जनमत पार्टीको हैसियतअनुसार गठबन्धनमा पर्याप्त स्थान दिएको बताउँदै नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले भने– ‘गठबन्धनलाई कमजोर बनाउनेगरी हामीसँगै रहेका सहयात्री दलहरूलाई उपेक्षा गरेर जाने पक्षमा थिएनौं । जहाँसम्म जनमत पार्टीको कुरा छ, गठबन्धनले उसको हैसियतभन्दा बढी स्थान दिएर सहयात्री बनाएको छ । फेरि यो वा त्यो नाममा गठबन्धनलाई कमजोर बनाउन र मुलुकमा राजनीतिक अस्थितरता कायम गराउनकै लागि विभिन्न खेलहरू भइरहेका छन् । जनमत त्यही खेलमा परेको हो ।’

सोमबार मात्रै सप्तरीमा जनमतलाई पन्छाएर जसपाका अध्यक्ष उपेन्द्र यादवले कृषि विश्वविद्यालय शिलान्यास गरेपछि राउत रिसले चुर हुनुभएको थियो। जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको सो सार्वजनिक कार्यक्रम राउतका कार्यकर्ताले बिथोल्न खोज्दा भएको झडपमा आधा दर्जन बढी घाइते भएका थिए।

उक्त घटनालगत्तै जनमत पार्टी मधेस प्रदेश सरकारकाट बाहिरिएपछि सत्ता गठबन्धन चोइटिने क्रम शुरू भएको राजनीतिक वृत्तमा टिप्पणी शुरू भएको छ। मधेसमा जनमतबाट २ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी थिए। जनमतका मधेस प्रदेशमा १३ सांसद रहेका छन् भने समर्थन फिर्ता लिँदा पनि सरकारलाई भने तत्काल कुनै असर पर्ने देखिँदैन। जनमत पार्टी संघीय सरकारमा समेत सामेल छ।यो समाचार आजको नेपाल समाचार पत्रमा छ ।

प्रतिक्रिया