अर्थमन्त्री भन्छन्– अनुत्पादक क्षेत्रमा बढी लगानी गर्दा वित्तीय क्षेत्रमा समस्या देखियो

admin

काठमाडौं,माघ १० : अर्थमन्त्री डा प्रकाशशरण महतले राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री महतले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको भन्दै प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको हो ।

आवश्कता अनुसार खर्च गर्न स्रोत साधन निकै कम रहेको अवस्थामा खर्चको प्राथमिकिकरण गर्न आवश्यक रहेको उहाको भनाइ छ ।

मन्त्री महतले आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने धारणा राख्नुभयो । उहाले मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको भन्दै अव निराश हुनुपर्ने अवस्था नदेखिएको बताउनुभयो ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गएको र बैंक तथा वित्तीय संस्थामा पनि कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या नरहेको बताउनुभयो ।

उहाले बैंक वित्तीय क्षेत्रको वित्तीय स्वास्थ्यमा समस्या आउन नदिन राष्ट्र बैंकले विभिन्न किसिमका प्रोभिजनिङ को व्यवस्था ल्याउँदा उनीहरुको नाफा केही घटेको देखिएपनि समग्रमा यसले सकारात्मक प्रभाव नै देखाएको जिकिर गर्नुभयो ।

२०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रु ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ ।

गत पुस मसान्तसम्ममा बैङ्कमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको रु तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको बैंकलेजनाएको छ ।

प्रतिक्रिया