अब सातै प्रदेशका अस्पतालमा चिकित्सा शिक्षा पढाइ हुन्छ: स्वास्थ्य मन्त्री

admin

काठमाडौं,माघ १० : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अगामी शैक्षिक सत्रदेखि १०० देखि ३०० शैयाका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुने दाबी गर्नुभएको छ ।

 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षाको विकासले देशमा रोजगारीको ढोका खुल्ने बताउनुभएको हो ।

स्वास्थ्य मन्त्रालयले १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एमविविएसको पढाई गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको उहाले बताउनुभयो ।

उहाले अब अस्पतालहरुले विरामीको उपचार मात्र गर्ने नभई चिकित्सा क्षेत्रको जनशक्ति पनि उत्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्री बस्नेतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको सेवा विस्तारका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.युवानिधि बसौलाले ३०० शैयाको अस्पताल बनाउने घोषणा सरकारले गरेको भए पनि अहिलेसम्म १०० शैयामै सञ्चालनमा रहेको बतानुभयो । पछिल्ला दिनमा अस्पतालले आफ्नो सेवा सुधारमा बिशेष ध्यान दिएको उहाको भनाइ छ ।

प्रतिक्रिया