प्रधानमन्त्री कप क्रिकेट : मधेस प्रदेशले गण्डकी प्रदेशलाई १४५ रनले हरायो

admin

काठमाडौं,माघ ११ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेशले गण्डकीलाई १ सय ४५ रनले पराजित गरेको हो । जितका लागि ३ सय ३६ रनको बिशाल लक्ष्य पछ्याएको गण्डकी ३९ दशमलव ५ ओभर खेल्दै १९० रनमा समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३३५ रन बनाएको थियो । मधेशका लागि अनिल शाहले १२४ रनको शतकीय पारि खेले ।

त्यस्तै मुलपानी मैदानमा भएको खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्यो । जितका लागि २४८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३० दशमलव ३ ओभर खेल्दा १५० रनमा अल आउट भयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनाएको थियो ।

त्यस्तै भैरहवा रंगशालामा भएको खेलमा एपिएफले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित दर्ता गर्यो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको एपिएफले २२.३ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाउदै जित दर्ता गरेको हो ।

एपिएफका कप्तान रोहित पौडेलले ५२ रनको योगदान दिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको लुम्बिनी ४१ ओभरमा १ सय ३३ रन बनाउदा अलआउट भयो । लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३९ रनको योगदान दिएका थिए । एपिएफका लागि रमेश कुर्मीले ५ विकेट लिए ।

 

प्रतिक्रिया