गठबन्धन खरानीको डल्लो हो, कुनै पनि बेला फुट्न सक्छ : ओली

admin

काठमाडौं, १६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताउनुभएको छ ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले गठबन्धन खरानीको डल्लो भएकाले कुनै पनि बेला फुट्न सक्ने बताउनुभएको हो । उहाले आफुहरु सत्ताको खेलमा नरहेको स्पष्ट पार्नुभयो ।

ओलीले आफुहरु अहिले मिसन ८४ मा लागेकाले कसैको काँध थाप्ने काम नगर्ने तथा जनतामा आशा र उत्साह दिन लागिपरेको बताउनुभयो ।

उहाँले कांग्रेसले मुलुकको राष्ट्रियता र अर्थतन्त्र प्रति चिन्ता नलिएको गुनासो गर्दै कांग्रेस अहिले सत्तामा पुग्ने र टिकाउने खेलमा लागेर मुलुकमा निराशा र अराजकता बढ्दा पनि चुप लागेर बसेको जिकिर गर्नुभयो ।

त्यस्तै उहाले सुशासन दिएको दाबी गर्ने सरकारले आफैले बनाएको आयोगले दोषी देखाएका मन्त्रीले राजिनामा दिएर नैतिकता देखाउनु पर्ने धारणा राख्नुभयो ।

उहाँले सत्य निरुपण तथा मेलमिलाप विधेयक छिटो पास गर्नुपर्ने बताउदै पिडितको पक्षमा आएको विधेयकको कसैले विरोध नगर्ने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले संविधान संसोधन आवश्यक भएपनि एजेण्डाविहिन रुपमा संसोधन हुन नसक्ने बताउनु भयो । उहाँले कुन कुन विषयमा संविधान संसोधन गर्ने विषय सतहमा नआएकाले आफुहरुले चर्चा नगर्ने गरेको बताउनु भयो ।

प्रतिक्रिया